२ भाद्र २०८३,मंगलवार

चितुवाको उद्धार : बुढानीलकण्ठको भंगाल चोकबाट

  • १० माघ २०८१,बिहीबार Updated
  • / 220 Read

चितुवाको उद्धार : बुढानीलकण्ठको भंगाल चोकबाट

काठमाडौं माघ १०। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ भंगाल चोकबाट एक चितुवाको उद्धार गरिएको छ । वन कार्यालयको टोलीले डार्ट गरेर विहीबार बिहान चितुवाको उद्धार गरेको हो । बिहान करिब साढे ८ बजेतिर चितुवा देखिएको सूचना पाएपछि डिभिजन वन कार्यालय काठमाडौंबाट शंकर थापा नेतृत्वको टोली परिचालित भएको थियो । सो टोलीले एकपटक डार्ट गरेर बिहान ११ बजेतिर चितुवा नियन्त्रणमा लिएको वन डिभिजन कार्यालय काठमाडौं प्रमुख पुष्पराज बर्तौलाले जानकारी दिए । उद्धार टोलीमा संलग्न सवडिभिजन वन कार्यालय गोकर्णका प्रमुख अशोक पराजुलीले शारीरिक रुपमा स्वस्थ रहेको सो चितुवा शिकारको खोजीमा शहरी क्षेत्रमा प्रवेश गरेको हुनसक्ने अनुमान गरे । ‘यो चितुवा आसपासको जंगलबाट आएको हुनसक्छ । यस क्षेत्रमा चितुवा प्रायः देखिने गरेको छ,’ उनले भने । उद्धारका क्रममा चितुवालाई नियन्त्रणमा लिन स्थानीयहरू ठूलो संख्यामा उपस्थित भएका थिए । जसका कारण उद्धार कार्य केही चुनौतीपूर्ण भएको थियो । उद्धार टोलीमा पशुचिकित्सक डा. अशुतोष भट्ट, वन अधिकृत  अशोक पराजुली, रेञ्जर सतीश दाहाल, जमदारद्व रामचन्द्र सापकोटा र किशोर कुमार थापा, वन रक्षक सुरज पण्डित र सवारी चालक रेशम पौडेल खटिएका थिए । नजिकको प्रहरी टोली पनि सो क्षेत्रमा खटाइएको थियो । चितुवाको आवतजावत बढ्दै गएपछि वन विभागले थप निगरानी राख्दै आएको छ । चितुवा नियन्त्रणमा लिन विभिन्न स्थानमा ट्र्यापमा पनि राख्ने गरिएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page