ट्रान्सफर्मर : चोरी भएपछि सयौँ परिवार खानेपानीबाट वञ्चित
- ५ असार २०८२,बिहीबार Updated
- / 278 Read
रौतहट असार ५ । रौतहटको पश्चिमीभेग फतुवा विजयपुर नगरपालिका ११ राङ्गी गाउँ स्थित सञ्चालित खानेपानी आयोजनाको विद्युत् ट्रान्सफर्मर चोरी भएको छ। ट्रान्सफर्मर चोरीसँगै गाउँका सयौँ परिवार खानेपानीबाट वञ्चित भएका छन्।
गाउँ बाहिर रहेको खानेपानी आयोजनाको विद्युत् ट्रान्सफर्मर चोरी बारे बुधवार थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। ट्रान्सफर्मर चोरी भएपछि अहिले राङ्गी गाउँको खानेपानीको आपूर्ति ठप्प भएको छ। गर्मीको मौसममा खानेपानीको आपूर्ति बन्द हुँदा १०० भन्दा बढी परिवार लाई ठुलो सास्ती भएको स्थानीय हरि कोइरालाले बताएका छन्।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले चोरीको घटनाबारे आफूहरूले बुधबार बिहान ११ बजे थाहा पाउनेबितिकै स्थलगत निरीक्षण गरेको बताए। घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।
अज्ञात चोर समूहले विद्युत्को लाइन काटेर खानेपानीको ५० केवी क्षमताको ट्रान्सफर्मर चोरी गरेका हुन्। चोर समूहले ट्रान्सफर्मर तल झारेर सो भित्र रहेको महँगा तामाका तार चोरेर लागेको स्थानीयले बताएका छन्।
केहीवर्ष अघि राङ्गी गाउँको सोही खानेपानी आयोजनाको विद्युत् ट्रान्सफर्मर चोरी भएको थियो। इलाका प्रहरी कार्यालय विजयपुरका तत्कालीन प्रमुख इन्स्पेक्टर चन्द्रकान्त साह घटनाको गहन अनुसन्धान गरी चोरीमा संलग्न ५ जना लाई पक्राउ गरेको थियो।
पक्राउ परेका सबै जना आरोपहरू पुर्पक्षका लागि जेल चलान भएर अहिलेसम्म छुटेका छैनन्। त्यस पछि ट्रान्सफर्मर चोरीको घटना प्रायः बन्द भएको थियो।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR